काठमाडौं– मकवानपुरमा ३२ किलो लागू औषध गाँजा र कारसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार चालक भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंह रहेको मकवानपुर प्रहरीले बताएको छ।
उनीहरुलाई हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे र चुरियामाई बीच जंगल स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा समातिएको प्रहरीले जानकारी दियो।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय पशुपतिनगरले गाडी चेक गर्न रोकेका थिए। प्रहरी निरीक्षक अरुणकुमार कुशवहाको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको डीएल ३ सीए क्यु नम्बरको कार नरोकेपछि हवाइ फाएर गर्न परेको प्रहरीको विज्ञप्तीमा उल्लेख गरिएको छ।
‘चेकजाँच गर्न खोज्दा कार नरोकी भागेको थियो, पछ्याँउदै जाने क्रममा अन्दाजी ३ किमी अगाडि हाइवेमा कार रोकी कारमा सवार मानिसहरु भाग्ने क्रममा नियन्त्रणमा लिएको हो’, विज्ञप्तीमा उल्लेख छः‘ २ राउण्ड हवाई फायर गरी गाँजासहित कार र कारमा सवार मानिसलाई नियन्त्रणमा लिएको हो।’
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।