काठमाडौं– अबैध रुपमा विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपााल आउने र भारत जाने क्रम चलिरहेको बेलामा छोकडासमेत तस्करी हुन थालेको छ। त्यस्तै प्रहरीले ठूलो रुपमा छोकडा बरामत गरेको छ। खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य सार्वजनिक भएको हो।
नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ। सरुवा भई पाँच दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय आएका प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो।
प्रहरी निरीक्षक कार्कीको अनुसार इन्जिन नभएको स१त ८७४४ नंको ट्र्याक्टरको ट्रलीबाट तीन हजार ५ सय किलो छोकडा बरामद गरिएको छ। उक्त ट्र्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१ बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ।
पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले जनाएका छन्। पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोवारमा आकर्षित छन् र सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन्।
स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ। नेपालबाट अनौपचारिक कारोवार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ।