मलेसिया– चर्चित गायक आनी छोइङ डोल्मा मलेसियामा आफ्नो सांगीतिक प्रस्तुति दिँदै छिन्। मलेसियाको क्वलालम्पुरको स्तना बुद्धयमा आयोजित ‘फिल द हिल’ नामक सांगीतिक प्रस्तुतिमा आनीलाई अन्य प्रतिस्ठित कलाकारले पनि साथ दिने छन्। मलेसियन नागरिकहरूकै सक्रियता र आयोजनामा हुने यो कन्सर्टमा मेलिसियन नागरिकको उत्साहजनक सहभागिता छ।
कार्यक्रममा आनीले ‘फूलको आँखामा फूलै संसार’ र ‘बुझ्नै सकिन’, ‘बटुवा हुँ बटुवा र बुद्ध मन्त्र’ लगायतका गीत गाउने छिन्। आनीलाई चर्चित तथा वरिष्ठ संगीतकार न्यू बर्जाचार्य, लोकप्रिय सारङ्गी बादक प्रिन्स नेपाली, प्रज्वल लामा (किर्बोड), सुन्दर महर्जन (ड्रम), उमेश पण्डित फ्ल्युटले साथ दिने छन्।
आफ्नो सांगीतिक प्रस्तुति मार्फत आनीले मानव माया, करुणा र शान्तिको सन्देश प्रवाहित गर्नेछन्। मलेसियामा आनीको संगीत सुन्न मन पराउने फ्यानहरु धरै छन् । २०१६ मा मलेसियाबाट फ्यानहरूको एक समूह आनीलाई खोज्दै नेपाल आएका थिए।
आनीले विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिएर शान्तिको सन्देश प्रवाह गर्दै नेपाललाई समेत चिनाउँदै आएकी छिन्। मलेसियामा रहेकी आनीले अन्न्पूर्ण अन्लाइनसँग कुरा गर्दै भनिन्, ’मलेसियन नागरिकको आग्रह र आमन्त्रणमा म यहाँ आएकी हुँ। संगीतमार्फत मानिसमा शान्ति र करुणाको सन्देश प्रवाहित गर्ने र नेपाललाई चिनाउने मरो उद्देश्य हो।

आफ्नो सांगीतिक प्रस्तुतिको क्रममा नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्य झल्किने विभिन्न दृश्यहरु पनि समावेश गरेर ’भिजिट नेपाल २०२०’ को अभियानलाई सहयोग पु¥याएकी छिन्।
आनी संसारको जुनसुकै कुनामा पुगेर पनि संगीतमार्फत नेपालको गौरव गाउँछिन्, यँहाको कला संस्कृति देखाउँछिन्। नेपाल भ्रमणमा आउन सबैलाई निम्तो दिन्छिन्। आनीले भनिन्, ‘म जँहा पुग्छु, त्यहा मेरो सांगीतिक प्रस्तुति मात्र हुँदैन। म नेपालको कला संस्कृतिको पनि प्रवर्धन गर्छु र नेपाल घुम्न आउन सबैलाई निम्तो दिने गरेकी छु।’
आनी भन्छिन्, ‘संगीत एउटा धर्म पनि हो। यसले एकछिन भए पनि मानिसलाई शान्त बनाउँछ। करुणा र प्रेम जगाउँछ , तनावमुक्त बनाउँछ। म को हुँ? चिन्न र जान्न संगीतले सहयोग गर्छ। मेरो सांगीतिक यात्राको उद्धेश्य यही हो।’