काठमाडौं– चिसो मौसममा छालासम्बन्धी विभिन्न समस्या देखिन्छन्। चिसोले हातखुट्टा फुट्ने, सुन्निने जस्ता समस्याले निकै सताउँछ। यसरी हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्यालाई पर्निओसिस भनिन्छ। पर्निओसिस इन्फ्लामेटरीको कारण लाग्ने रोग हो।
यस्तो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ। घरधन्दामा बढी सक्रिय भाडा माझ्नुपर्ने, लुगा धुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ।
कसिलो पाइन्ट लगाउने महिलामा पनि पर्निओसिसको समस्या देखिने गरेको छ। यो समस्याले हातखुट्टा, कान, नाक मुख लगायत कपडाले नछोपिने भागमा बढी असर गर्छ। यो समस्या सुरु हुँदा चिलाउने, सुन्निने निलो, रातो डाम देखिने हुन्छ।
यदि समयमा यसको उपचार गरिएन भने बिरामीको औँला झर्न पनि सक्छ।
कारणः
धेरै चिसोमा एक्पोज हँुदा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ। नशा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन्।
रक्तसञ्चारमा गडबडी मुटुरोग, बाथ रोगका बिरामीमा बढी देखिन्छ। कुनैकुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ। एलर्जीले गर्दा हुने समस्या उपचार गर्दा पनि वर्षै्पिच्छे दोहोरिने गर्छ।
लक्षणः
१. कपडाले नछोपिएको शरीरको विभिन्न भागमा चिलाउने समस्या उत्पन्न हुन्छ।
२. चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउँ हुने हुन्छ।
३. छालामा पानीको फोका आउने गर्छ।
४. त्यसलाई स्याहार नगरेमा विस्तारै फोका फुटेर घाउ हुने गर्छ।
५. यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छन्।
पहिचान
यो समस्या हुने बेलामा हाम्रो शरीरको खुला भाग चिसो हुने गर्छ। हातखुट्टा दुख्ने, चिलाउने, सुन्निने हुनुका साथै छालाको रङ परिवर्तन हुन्छ।
बच्ने उपायः
यदि जाडोको समयमा यस्तो समस्या पहिले पनि हुन्थ्यो भने हरेक जाडो याममा दोहोरिने गर्छ। यो समस्या एलर्जी जस्तो हुन्छ। एक पटक उपचार गरेर निर्मूल पार्न मुस्किल हुन्छ। यो समस्यालाई घरमा नै उपचार गर्न पनि सकिन्छ।
चिसो मौसम सुरु भएपछि हातखुट्टा वा शरीरको खुला भागलाई न्यानो पारेर राख्नुपर्छ। धेरै चिसो पानी चलाउनु हुँदैन। यदि चलाउनै प¥यो भने तातो पानीको प्रयोग गर्ने वा पन्जा लगाएर पानी चलाउने गर्नुपर्छ। घरबाट बाहिर निस्कँदा टोपी, पञ्जा, मोजा लगाउनुपर्छ।
घरमा बस्दा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्नुपर्छ।
बिहान–बेलुका १० मिनेट मनतातो पानीमा हातखुट्टा डुबाउने र क्रिम वा तेल लगाउँदा फाइदा हुन्छ। समस्या भएको मानिसले न्यानो बनाउन हिटर वा आगोमा तताउँदा रक्तसञ्चार हुन्छ तर चिसोबाट आएर तुरुन्तै हात सेकाउनु हँदैन।
त्यसो गर्नाले नशामा असर गर्छ र पुनः रक्तसञ्चारमा समस्या आउने गर्छ।
उपचारः
चिसोबाट बच्नु नै यसको मुख्य उपचार हो। यदि चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ।उनीहरुको सल्लाह अनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ, जसले चिसोले खुम्चिएर बसेका नशालाई खुलाउन मद्दत गर्छ।