काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको सङ्कलन कार्य फरक–फरक दिन शुरु गरेको छ। सबै फोहर एकै स्थानमा व्यवस्थपन गर्दा समस्या भएको भन्दै कामपाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर सङ्कलन कार्य शुरु गरेको हो। बत्तीस वडा रहेको कामपाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरु गरेको छ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मङ्गलबार, बिहीबार र शनिबार नकुहिने र सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर सङ्कलन कार्य भइरहेको छ। प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन्।
विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरु गरेको जनाएको छ। पहिलो केही वडामा काम शुरु गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराए। अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसङ्ख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले कामपा क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो।
कामपाले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ। अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ। फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको उनले बताएका छन्।
यसरी सङ्कलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी यस कामपाले यस किसिमको विधि अपनाएको हो। हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर सङ्कलन हुने गरेको छ। (रासस)