बुटवल– नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा हुने भएको छ। हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशन पुस १९ गते शनिबार बुटवल स्थित कालिका मानवज्ञान माविको प्राङ्गणमा हुनेछ।
१६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ। फारम अनलाइनमार्फत पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक संसथा कि एडभरटाइजिङका बजार निर्देशक दिनेश पोखरेलले जानकारी गराए। देशैभरीबाट गायन प्रतिभाहरुको पहिचान गरि प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताएका छन्र।
करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको समेत उनले बताए। प्रतियोगिताको अडिशन क्रमशः बुटवल, धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ। प्रतियोगितामा गायक कलाकार रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहनेछन्। नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको सञ्चालन सन्जोक बस्याल र निशा पाठकले गर्नेछन्।