इलाम– जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ। केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ।
सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिमपात भएको स्थानीयवासी दिनेश ढकालले बताए। मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको छ।
तीन हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर र आसपासमा हिउँ परेपछि मानिस मात्र होइन, पशु चौपायलाई समेत समस्या आएको उनले बताए। सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ।
सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन्। विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन्। सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो। यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ।
उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ। पानी परेपछि जाडो बढेको छ। तर खेती किसानी गर्नेलाई भने पानीले राहत दिलाएको छ।
सडकमा भएको धुलो मरेर यात्रामा भने सहजता थपेको इलाम नगरपालिका–५ बरबोटेका हेमन्त गौतमले बताए। पानीले किसानले लगाएको अलैँची, आलुलगायत खाद्यान्न तथा नगदेबालीलाई भने राम्रो भएको छ।