काठमाडौं– नेपाल भ्रमण वर्षलाई सफल बनाउन शुरु गरिएको सम्पदा यात्राको दोस्रो हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरबाट स्वयम्भू क्षेत्रसम्म पैदलयात्रा गरिएको छ। यात्रामा वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरीखोलालगायत सफाइ अभियानका अभियानकर्मीका साथै स्थानीयवासीको सहभागिता थियो।
यात्रामा कीर्तिमानीधावक वैकुण्ठ मानन्धर सहभागी हुनुभएको थियो। यात्रा समूह स्वयम्भूमा पुगेपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सांसद जीवनराम श्रेष्ठले सफाइ अभियानले फोहर गर्नुहुन्न भनी जनताको दिमागमा घुसाउन सफल भएको बताएका छन्। वाग्मती सफाइ महाअभियानजस्तै सम्पदा पदयात्रा र सफाइ अभियानलाई पनि लामो समय निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
कीर्तिमानी धावक मानन्धरले देशकै सभ्यताको स्रोत राजधानीको संस्कृति जोगाउन सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। सफाइ अभियानकर्मी किशोरसिंह शाही, रोहित गिरी, माला खरेल, ताराबहादुर कुँवरलगायतले अभियानलाई भ्रमण वर्षभर निरन्तरता दिइने प्रतिबद्धता जनाए।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १२ गते शनिबार बिहान विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट वसन्तपुरसम्म पैदलयात्रा गरी यो अभियान शुरु भएको हो। शुरुमा एक महिनाका लागि घोषणा गरिएको अभियानमा जनसहभागिता जु्ट्नुका साथै वर्षभर गर्नुपर्ने माग आएपछि शुक्रबारको अभियानकर्मीको बैठकले नेपाल भ्रमण वर्ष २०२० भर कार्यक्रम जारी राख्ने निर्णय गरेको थियो।
भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदलयात्रा जारी राखिने जनाइएको छ। पुस २६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा सफाइसहित यात्रा गरिनेछ। कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र सांसद गगनकुमार थापा सहभागी हुनुहुने जनाइएको छ।
यसैगरी माघ ४ गते शनिबार भक्तपुर दरबार क्षेत्रका सम्पदामा सम्पदा पदयात्रासहित सफाइ गरिने अभियानकर्मी गिरीले जानकारी दिए। यो यात्रामा भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सहभागी हुने वचन दिएको छ।
त्यसपछिका कार्यक्रम भने पछि तय गरिने जनाइएको छ। भ्रमण वर्षमा विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल सम्पदा क्षेत्र हुने भएकाले यो अभियान शुरु गरिएको हो। पुसको चिसो र झरीको समय भए पनि यात्रामा उत्साहजनक सहभागिता जुट्ने गरेको छ। (रासस)