एजेन्सी– खेलका लागि कतार आउन तयारी अवस्थामा रहेको अमेरिकी फुटबल टोलीले आफ्नो योजना रद्द गरेको छ।
इरानी फौजका कमाण्डरको हत्यापछि मध्यपूर्वमा उत्पन्न तनावका कारण यस्तो निर्णय गरेको बताइएको छ। पुरुष फुटबल राष्ट्रिय टोलीले शुक्रबार विज्ञप्ति निकाल्दै जनवरीको कतार यात्रा रद्द भएको जानकारी गराएको हो।
दोहास्थित कतारमा अमेरिकी फुटबल टोली २० दिनका लागि खेल्न आउने कार्यतालिका थियो। जुन वार्षिक कार्यतालिकाकै एक तालिम थियो। अमेरिकी फुटबल टिमका कोच ग्रेग बराल्टरले आफ्ना २५ खेलाडीको यात्रा रद्द भएको जानकारी दिएका छन्।
अमेरिकी हवाइ हमलासँगै इरानसँग तनाव बढिरहँदा अमेरिकी पक्षबाट यस्तो निर्णय भएको हो। शुक्रबार मात्रै अमेरिकी हवाइ हमलाबाट इरानी फौजका कमाण्डर कुसाम सोलेमानी मारिएका थिए। जुन हमलालाई अमेरिकी रक्षा मन्त्रालयले ’राष्ट्रपतिको निर्देशन’ भनेको छ। यता इरानमा भने अमेरिका विरुद्ध विशाल प्रदर्शन भएको छ।