कास्की– माछापुच्छे गाउँपालिका–२ सार्दिखोलामा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २९७ स्थानीयवासी लाभान्वित भएका छन्।
रमाकान्तरनिर्मला फाउण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले आँखा परीक्षण गरेका थिए।
शिविरमा सहभागीलाई हिमालय आँखा अस्पतालका प्राविधिक स्वास्थ्यकर्मीले आँखाको परीक्षण, औषधि तथा ५५ जनालाई चश्मा वितरण गरेका थिए। परीक्षणमा आएकाहरुमध्ये सात जनामा मोतियाविन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल सिफारिश गरिएको छ।
शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने जनाएको छ। सो अवसरमा आँखा अस्पतालका प्रबन्ध निर्देशक डा इन्द्रमान महर्जनले आँखा सबैभन्दा संवेदनशील अङ्ग भएकाले बढी ध्यान दिन आग्रह गर्दै आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमा सेवा प्रदान गर्न अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा शिविर सञ्चालन गर्दै आएको जानकारी दिएका छन्।
सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले नागरिकको स्वास्थ्यप्रति गाउँपालिका सचेत रहेको बताएका छन्। फाउण्डेशनका संरक्षक रमाकान्त बरालले आफ्नो परिवारको आम्दानीको केही रकम सामाजिककार्यमा लगाउने उद्देश्यले संस्था स्थापना गरेको चर्चा गर्दै स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। (रासस)