चिप्लेढुङ्गा– ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन्। साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका हुन।
उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ। शिक्षण पेशामा आवद्ध महेश्वरी पराजुलीले १० वर्ष लामो शिक्षण पेशा छाडेर सिसाकलम उद्यमशीलतातर्फ अग्रसर भएको हो। पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन उनका श्रीमान् सचित पराजुलीले युट्युबबाट जानकारी लिएपछि उद्योगका लागि सल्लाह दिए थियो।
खेर गएको कागजलाई पुनःप्रयोग गरेर सिसाकलम बनाउन सकिने जनाइएको छ। चीनबाट रु १३ लाखमा सिसाकलम बनाउने उपकरण ल्याएर महेश्वरीले उत्पादन गर्न थाले। पछि एक्लैभन्दा दिदीबहिनीको समूहबाट व्यवसाय सञ्चालनले धेरै दिदीबहिनी उद्यमशील हुने र आर्थिक रूपमा पनि सवल हुनसक्ने भन्दै उनले १५ जना महिलाको समूह बताएको थियो।
हाल विन्ध्यवासिनी दिदीबहिनी समूहको नामबाट सञ्चालित नेपाली सिसाकलम उद्योग पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीमा रहेको छ। समूहका १५ सदस्यले रु ५०५० हजार रकम लगानीबाट उक्त उद्योग सञ्चालन ल्याएको महेश्वरी जानकारी दिएका छन्। उनले भने, ‘महिला सधैँ निकै परम्परागत पेशामा मात्र सीमित भएका छन्, अब केही फरक तरिकाबाट महिला उद्यमशील हुनुपर्छ। सधँ एउटै तालीमभन्दा प्रविधिमैत्रीदेखि लिएर नयाँ–नयाँ तालीममा महिला जोडिनुपर्छ।
हाल समूहका आठ जना उत्पादन लागि नियमित खटिदै आउनुभएको छ । दैनिक एक हजार बढी उत्पादन हुने सिसाकलमको एक प्रतिको रु १० र दर्जनको रु १०० मा बिक्री वितरण हुँदै आएको महेश्वरीले जानकारी दिए। पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको स्टल नं १३ मा हाल उक्त सिसाकलमको बिक्री वितरण भइरहेको छ।
नियमित सम्पर्क र एकचोटी प्रयोग गरेकाले पुनः प्रयोग गर्ने भएकाले उत्पादनको माग राम्रो भएको सञ्चालकमध्येकी एक लक्ष्मी पौडेल लामिछानेले बताएका छन्। ‘हामीले अहिले स्टेशनरीलाई उपलब्ध गराएका छैनाैँ। यो आकर्षक देखिँदैन तर एकदम बलियो छ, यसलाई विद्यार्थीमा विस्तारै बानी पार्ने अभ्यासमा हामी छाैँ।’
सिसाकलममा प्रयोग हुने ‘लिड’ भारत र चीनबाट आयात गरिँदै आएको र पत्रपत्रिकाचाहिँ स्थानीयरूपमै उपलब्ध हुने गरेको उनले जानकारी दिए। फेभिकोल (गम) र पत्रिकाले सिसाकलमको लिडलाई बेरेर बनाइन्छ। मेशिनको काम कम र हातको काम बढी हुने भएकाले मेहेनत बढी पर्ने अर्की सञ्चालक शान्ति अधिकारीले बताएका छन्।
नेपाली सिसाकलमको उत्पादनदेखि नै आफ्नो बालबालिकालाई प्रयोग गर्दै आएकी पोखरा महानगरपालिका वडा नं ३ की मीना शर्माले ‘राम्रो लेख्ने, छिटो नभाँचिने’ भएकाले यसको प्रयोग गराउँदै आएको बताएका छन्। उनले भने, ‘यो वातावरणमैत्री पनि छ र बलियो पनि छ, अर्को कुरा हामीजस्तै अभिभावकले स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ।’
कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं महिला उद्यमी हीरा भट्टराईले आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउछन्। ‘हामी समृद्धि चाहान्छौँ भने स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नु पर्छ।
आकर्षक सामानको पछि लाग्ने र स्वदेशी सामानप्रति विश्वास नगर्ने कतिपय नेपालीको बानीले साना–साना कुरामा पनि परनिर्भरता बढाएको छ।’उनले पोखरेली दिदीबहिनीले उत्पादन गरेको नेपाली सिसाकलमलाई ‘ब्राण्डिङ’ गर्न सके करोडौँ रकम बाहिर जानबाट रोक्न सकिने बताएका छन्।
उनले वातावरणमैत्री र स्वदेशी सिसाकलम प्रयोगका लागि विद्यालयले समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाली सिसाकलमको प्रचार–प्रसार गर्न सके र यसको महत्वलाई उजागार गर्न सके भारत एवं चीनबाट आयात हुने सिसाकलमलाई नेपाली बजारले छिट्टै विस्थापन गर्न सकिने विश्वास भट्टराईको छ। (रासस)