सिचाई– तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ।
बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ। वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत सो कार्य सम्पन्न भएको हो।
गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिए। उनका अनुसार सोही कुलोबाट ११ किलोवाट बिजुलीसमेत निकालिएको छ। जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले जानकारी दिए।
उनका अनुसार सिँचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको बताए। रु ५२ लाख लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सिँचाइ, बिजुली र घट्टले आर्थिक जीवन माथि उकास्ने बताएका छन्। (रासस)