एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले इस्पान्योलसँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना र इस्पान्योलले २–२ गोलको बराबरी खेलेको हो।
इस्पान्योलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लुइस सुआरेजर र आर्टुरो भिडालले गोल गरे भने इस्पान्योलका डेभिड लोपेज र लिइ वुले गोल गरेका थिए। खेलको २३ औं मिनेटमा नै इस्पान्योलले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि डेभिड लोपेजले गोल गरेका थिए।
पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोना दोस्रो हाफको ५० औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो। उक्त गोल जोर्डी अल्वाको पासमा लुइस सुआरेजले गरेका थिए। त्यस्तै खेलको ५९औै मिनेटमा लुइस सुआरेजको क्रस पासमा भिडालले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए।
तर खेलको ७५ औं मिनेटमा बार्सिलोनाका नाका फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएसँगै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। खेल सकिन केहि मिनेट बाँकि रहँदा इस्पान्योलले गोल गर्दै अंक खोस्न सफल भयो। ८८ औं मिनेटमा माटियस भर्गासको पासमा लिइ वुले गोल गर्दै खेललाई बराबरीमा सकाएका थिए।
बराबरीसँग बार्सिलोना ला लिगाको शीर्षस्थानमा रहेको छ। बार्सिलोनाको १९ खेलबाट ४० अंक रहेको छ। समान ४० अंक नै रहेपनि रियाल म्याड्रिड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ।