एजेन्सी– विश्वव्यापी प्रभुत्व हासिल गर्ने लडाइँमा अहिले सबैको आँखा अमेरिका र चीनमाथि छ। प्रतिस्पर्धाको नयाँ दशक सुरु हुँदा वासिङ्टनले व्यापारिकदेखि सैन्य र कूटनीतिक विषयमा समेत बेइजिङ विरुद्धका कदममा जोड दिइरहेको छ।
यसरी यी दुई मुलुकबीच चलिरहेको तनावले २० औँ शताब्दीमा अमेरिका र सोभियत युनियनबीचको ५० वर्ष लामो शीतयुद्धको याद दिलाउँछ।तर यो शीतयुद्धमा सीमित नरहन पनि सक्छ भने यहाँ चीनलाई, सोभियत युनियनको संज्ञा दिन सकिँदैन।
१९९१ मा सोभियत युनियनको पतन भएको यतिका समय बितिसक्दा चीन अहिले आर्थिक रुपमा अत्यन्तै सम्पन्नशाली र स्थिर मुलुकका रुपमा रहेको छ भने यस शक्तिशाली कम्युनिस्ट शासनले विश्वव्यापी रुपमा आफ्नो प्रभाव फैलाइसकेको छ।
यतिमात्र नभएर २०३० सम्ममा चीनले आर्थिक रुपमा अमेरिकालाई समेत पछि पार्ने विश्वविद्हरुको अनुमान छ। उतिबेला सोभियत युनियनको अर्थतन्त्र पूर्णरुपमा सेनामा केन्द्रित थियो तर चीनले भने त्यसको विपरीत ढाँचा अपनाएको छ।
चीनले सोभियतको तुलनामा सैन्य गतिविधिमा धेरै कम खर्च गरिरहेको छ भने त्यसको वृद्धि र आधुनिकीकरणमा चाहिँ विशेष जोड दिइरहेको छ। १९८९ मा सोभियत सरकारको पतन हुनु अगाडि त्यसले राष्ट्रिय बजेटको १५ प्रतिशत रकम सेनामा खर्च गर्ने गरेको पाइएको थियो।
नतिजास्वरुप २०१९ मा चीन आर्थिक हिसाबले सोभियत युनियन भन्दा धेरै गुणा शक्तिशाली छ। शीतयुद्धको समयमा सोभियतको अर्थतन्त्र जापानको भन्दा सानो थियो।
त्यस्तै सैन्य शक्तिको कुरा गर्नुपर्दा सोभियत युनियन धेरै ठूलो स्तरमा फैलिएको थियो जस्तै १९८० को दशकमा विश्वका सबै प्रमुख क्षेत्रमा दशौँ हजार सेना र हतियार खटाइएको अमेरिकी सरकारको रिपोर्टमा उल्लेख छ।
तर चीनले आफ्नो सेनाको उपस्थिति एसिया बाहिर पुर्याउनमा कुनै रुची देखाएको छैन। पछिल्ला केही वर्षहरुमा कूटनीतिक र आर्थिक पहुँच बढाएपछि चिनियाँ सेनाले अफ्रिकामा मात्र एउटा अन्तर्राष्ट्रिय बेस खोलेको हो। तर चिनियाँ सेना एसियामा चाहिँ अधिक हावि र आक्रामक शैलीमा देखा पर्दै आएको छ।
जसकारण अमेरिकाले दक्षिण चिनियाँ समुद्रमा चीनको तिव्र सैन्य विकासको विरोध गर्दै आएको छ।
यसैबीच २०१७ मा अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरक्षात्मक प्रणाली, ‘ठाड’ स्थापना गरेको थियो जसकारण सिओल र बेइजिङबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन। यसरी सोभियत युनियन सबैभन्दा उच्च बिन्दुमा रहँदा अमेरिकाको ४,७०० को तुलनामा ऊसँग ४० हजार बढी आणविक हतियार थिए।
तर चीनको आणविक हतियारको सङ्ख्या केबल २८० मात्र रहेको अनुमान छ।
तर पनि आणविक विषयमा विश्वव्यापी रुपमा पुनः नयाँ विवाद सुरु हुने अधिक सम्भावना रहेको छ। किनकि गत अगस्टमा मात्र अमेरिका रुससँगको आईएनएफ सम्झौताबाट बाहिरिएको हो जसले जमिनमा आधारित आणविक मिसाइलको विकास सीमित गराउँदै आएको थियो।
यसपछि अमेरिकाले रुस र चीन दुवैलाई नयाँ सम्झौतामा सहभागी हुन आग्रह गर्यो तर चीनले सो प्रस्ताव अस्वीकार गरेको हो। शीतयुद्धको समयमा मस्काउ र वासिङटनले व्यापारिक नीतिमा पनि एकअर्कासँग लगातार प्रतिस्पर्धा गर्ने गरेका थिए।
तर आधुनिक ग्लोबल अर्थतन्त्रमा अवस्था धेरै फरक भइसकेको छ।
अहिले दर्जनौँ राष्ट्रका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ जसमा अमेरिकासहित अष्ट्रेलिया, जापान र न्युजिल्यान्ड पनि पर्छन्। यस्तोमा कुनै पनि राष्ट्र सुरक्षा र सैन्य क्षेत्रमा अमेरिकाको मित्रराष्ट्र भए पनि त्यससँगै व्यापारिक साझेदारीको विषयमा भने चीनलाई नै सबैभन्दा महत्वपूर्ण मान्न सक्छ।
यसैले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि चीनबाट व्यापारिक घाटा बेहोर्नुपरेको आरोप लगाउँदै आएका छन्।
आफ्ना कम्पनीका लागि चीनले अन्यायपूर्ण नीति अपनाएर नोक्सान पुर्याएको अमेरिकाको भनाइ छ। यसबीच बेइजिङ र वासिङटनले २०१८ देखि नै व्यापारिक युद्ध सुरु गरेका हुन् जसमा चीनबाट आयातित अरबौँ डलरका सामग्रीमा अमेरिकाले अतिरिक्त कर बढाएको छ ।
सोभियत–अमेरिका शीतयुद्धका समयमा दुवै राष्ट्र कम आत्मनिर्भर अवस्थामा थिए तर अहिले चीनसँगको व्यापारिक युद्ध लामो समय जारी रहेमा अमेरिकाले पनि उत्तिकै घाटा बेहोर्नुपर्ने हुन्छ। यसैगरी त्यो समयमा अमेरिकाले सीधै सोभियत युनियन विश्वका लागि खतरा भएको तर्क गर्न सक्थ्यो तर बेइजिङमाथि सो तरिका अपनाउन सहज हुने छैन।
अहिले नै धेरै राष्ट्रहरुले चीनको राजनीतिक हस्तक्षेपबिनाको आर्थिक सहयोगको प्रस्ताव आकर्षक मानिरहेका छन्। यसरी कुनै समय युरोपमा अमेरिकाको भूमिका मात्र सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो भने हाल चीनको उपस्थितिलाई पनि उत्तिकै महत्वसाथ हेरिएको छ।
सोभियत युनियनले यस किसिमले कहिल्यै प्रभाव पार्न सकेको थिएन।
यता अमेरिका र चीनबीच अन्तरिक्ष उपलब्धीको लडाईँ पनि जारी छ। दुवै देश अहिले चन्द्रमामा पहिलो मानव अवतरण गराउने सम्बन्धी प्रतिस्पर्धा गरिरहेका छन्। यसबीच दुवैको रेकर्ड हेर्दा पछिल्लो समय अन्तरिक्ष क्षेत्रमा चीनको सक्रियता र उपलब्धी धेरै देखिन्छ। कुनै समय अमेरिकी अन्तरिक्षयात्रीहरु चन्द्रमामा पाइला टेकिसक्दा पनि चीनले कुनै स्याटलाइट लन्च गरेको थिएन।
तर अहिले यही दौडमा चीनले अमेरिकालाई पछि पार्ने संकेत देखाएको छ। त्यस्तै प्राविधिक क्षेत्रमा पनि चीनले अग्र स्थान लिन थालिसकेको छ। यसबीच अमेरिकाले चीनको सबैभन्दा महत्वकांक्षी परियोजना मानिएको फाईभजी नेटवर्क प्रयोग नगर्न थुप्रै मित्रराष्ट्रहरुलाई दबाब दिइरहेको छ। यता हुवावेमाथि पनि राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको आरोप लगाइएको हो तर अमेरिकाले बिना प्रमाण कम्पनीको नाम खराब गरिरहेको हुवावेको आरोप छ।
तर लामो शीत युद्धको परिणाम स्वरुप अमेरिकाले दशौँ हजार नागरिक गुमाउनु परेको थियो भने राष्ट्रिय नीतिमा ठुल्ठुला परिवर्तन ल्याउनुपरेको थियो। जसकारण पनि अमेरिका सजिलै शीत युद्धमा संलग्न भइ पुरानो गलती दोहोर्याउन नचाहने सीआइए विश्लेषक पिटर म्याटिस बताउँछन्। उनी भन्छन्, “यसको सम्भावना अधिक छ तर त्यसवापत हामी कतिसम्मको मूल्य चुकाउन तयार छौँ, त्यो पनि हेर्नुपर्छ।” सिएनएन