कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का विपन्न परिवारका झुपडीका छाना फेर्ने कार्य अगाडि बढाइएको छ। वडा कार्यालयले विपन्न परिवारको छनोट गरी प्लाष्टिक, त्रिपाल, घाँस र खरले छाएका झुपडीका छानामा जस्तापाता राख्न थालेको हो।
झुपडीमा बस्दै आएका परिवारलाई निःशुल्करूपमा वडा कार्यालयले जस्तापाता उपलब्ध गराउन थालेपछि विपन्न परिवारले सुरक्षित तरिकाले बस्न पाएका छन्। जस्तापाता पाएपछि खुशी व्यक्त गर्दै स्थानीयवासी करन नेपालीले यस वर्षको वर्षात्मा सहजरूपमा बस्न पाइएको बताएका छन्।
त्रिपालको छाना फेर्न नसक्दा वर्षात्का बेला पूरै पानी झुपडीमा चुहिँदा अनिदोमै रात बिताउनुपर्ने अवस्था थियो। ‘हावाहुरी आउँदा झुपडीको छत नै उडाएर लैजाँदा खुला आकाशमा बस्नु पर्दथ्यो,’ उनले भने, ‘परिवारसँगै झुपडीभित्रको सामान जोगाउ मुस्किल हुथ्यो, वडा कार्यालयले उपलब्ध गराएको जस्तापाताले परिवार सुरक्षित भएको छ।’वडा क्षेत्रमा रहेका विपन्न अवस्थाका ५० परिवारमध्ये १२ परिवारको झुपडीमा जस्तापाता राखिएको छ।
प्लाष्टिक र घाँस राखिएका झुपडीका छानामा जस्तापाता राख्ने कार्य शुरु गरेका छौँ, वडाध्यक्ष हिमालय चन्दले भने, ‘सुरक्षित बसोबासका लागि काम अगाडि बढाइएको छ।’ गत वर्ष झुपडीमा बस्दै आएका नौ परिवारलाई जस्तापाता उपलब्ध गराइएकामा यस वर्षको हालसम्म तीन परिवारलाई जस्तापाता उपलब्ध गराइएको उनले बताएका छन्।
जस्तापाताका लागि गत वर्ष रु एक लाख बजेटको व्यवस्था गरिएकामा यस वर्ष रु एक लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ। आउदो वर्षसम्म वडाका सबै विपन्न परिवारका झुपडीमा जस्तापाता लगाउने वडा कार्यालयको योजना रहेको छ। झुपडीमा बस्दै आएका अधिकांश परिवार दलित समुदायका छन्।
बालविकास केन्द्र सञ्चालन
भीमदत्त नगरपालिका–१७ बाँसखेडामा बालविकास केन्द्र सञ्चालन गरिएको छ। स–साना बालबालिकालाई टाढाको विद्यालय जान समस्या भएपछि वडा कार्यालयले बालविकास केन्द्र सञ्चालन गरेको हो। वडा कार्यालयले रु पाँच लाखको लागतमा सिँचाइ नहरछेउको एक कठ्ठा जग्गामा बालविकास केन्द्रको भवन निर्माण गरेको हो।
बालविकास केन्द्रमा २५ बालबालिका पढ्दै आएका छन्। बालबालिकालाई पढाउनका लागि शिक्षिकाको व्यवस्थासमेत गरिएको छ। बालविकास केन्द्रमा अध्ययन गर्ने अधिकांश बालबालिका दलित समुदायका छन्। वडामा सामुदायिक विद्यालय नभएपछि चुनावका बेला विद्यालय खोल्ने घोषणाअनुरुप बालविकास केन्द्र सञ्चालन गरिएको वडाध्यक्ष हिमालय चन्दले बताएका छन्।
बालविकास केन्द्रलाई भविष्यमा विद्यालयका रूपमा परिणत गर्ने योजना रहेको उनले बताए। बालविकास केन्द्र नजिकै रु एक लाखको लागतमा वडा कार्यालयकै सहयोगमा चौतारासमेत निर्माण गरिएको छ। ‘यस वर्ष बालविकास केन्द्रका लागि रु दुई लाख लागतमा शौचालयसमेत निर्माण गर्दैछौँ,’ उनले भने। (रासस)