एजेन्सी– इरानका सैनिक कमाण्डर कासिम सुलेमानी गएको बिहीबार अमेरिकी आक्रमणमा मारिएपछि इरानले अमेरिकाविरुद्धमा आक्रामक रुप प्रस्तुत गरिरहेको छ।
यसैबीच इरानको कौमस्थित प्रमुख मश्जिदमाथि रातो झण्डा फहराइएको छ। इरानको सरकारी टेलिभिजनले पवित्र शहर कौममा रहेको जमकारन मश्जिदमा रातो झण्डा लगाएको देखाइएको छ।
शिया समुदायमा यसको मतलब बदलाको कारवाही वा युद्धको घोषणा। सो मश्जिदमा रातो झण्डा राखिएपछि लाउडस्पिकरबाट आशिर्वाद माग्दै भनिएको थियो,‘‘हे अल्लाह, आफ्नो रखवालालाई फेरि दुनियाँ समक्ष पठाउनुस।’’
यसको अर्थ पैगम्बर मोहम्मदको दोस्रो पटक पदार्पणका लागि अनुरोध गरिएको हो। इश्लामी मान्यताअनुसार आखिरी समयमा धर्तिमा भएको अत्याचारको अन्त्यको लागि पैगम्बर दोस्रो पटक आउने विश्वास गरिन्छ।
शनिबार इरानका सर्बोच्च नेता आयोतोल्लाह अली खोमेनीले मारिएका कमाण्डर सुलेमानीका परिवारलाई भेटेका थिए। उनले सो अवसरमा हत्याको बदला लिइने जनाएका थिए।