एजेन्सी– अस्ट्रेलियामा लागेको आगलागी नियन्त्रणमा आयन सकिरहेको छैन्। उक्त आगलागिमा परि ५० करोड जंगली जनावर र पंक्षीहरुको मृत्यु भएको अनुमान गरिएको छ।
यूनिवर्सिटी अफ सिडनीको इकोलोजिस्टहरुले अहिलेसम्म ५० करोड जनावारको मृत्यु आगोको सामना गर्दा गर्दै भएको अनुमान गरेका छन्। जसमा स्तनधारी पशु, पंक्षी र घस्रने वाल जीव पनि सामेल छन्। आगलागीमा जनावरको मात्र नभई १२ जना मानिसको पनि मृत्यु भएको छ र अन्य २८ जना बेपत्ता भएका छ। आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिएको छ।
शनिबार प्रधानमन्त्री स्कट मोरिसनले तीन हजार सैनिक परिचालन गर्न लागिएको बताएका थिए। उनले यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै रहेको बताएका थिए। ‘धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,’ उनले भने।
यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए। एक महिना अघिदेखि लागेको आगो नियन्त्रण गर्न नसक्दा तीन हजार सैनिक परिचालन गर्न लागिएको हो। अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो।
अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ। हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। डढेलो ‘नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जानकारी दिएका छन्।