एजेन्सी– छोटो भिडियो क्रिएटिङ तथा सेयरिङ गर्ने चर्चित एप टिकटककोे निर्माता कम्पनी बाइटडान्सले अरुले तयार पारेको भिडियोमा तपाईंको अनुहार राख्न दिने प्रविधि बनाएको छ। बाइट डान्सले डीपफेक प्रविधि प्रयोग गरी तयार पारेको उक्त फिचरको कोडलाई ‘फे स्वाप’ नाम दिइएको टेकक्रञ्चले उल्लेख गरेको छ।
यो कोडमार्फत टिकटक र यसको चिनियाँ भगिनी एप डुइनले प्रयोगकर्तालाई विभिन्न कोणबाट अनुहारको बायोमेट्रिक स्क्यान गर्ने सुविधा दिने र त्यस आधारमा आफूले चाहेको भिडियो छनौट गरेर आफ्नो अनुहार जोडेर सेयर गर्न सक्नेछन्।
डीपफेक फिचर सार्वजनिक भएको खण्डमा यसले गलत सूचना फैलाउनुको साटो नियन्त्रित रुपमा मनोरञ्जन तथा रमाइलोका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। त्यसका साथै यसले अनलाइनमा हुने सबै विषयहरु विश्वसनीय नहुने प्रविधिबारेको सचेतना फैलाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यद्यपी, डिपफेक प्रविधिलाई उपभोक्ता तहसम्म लैजाने विषयलाई गोपनीयताको हिसावले समेत हेर्ने गरिएको छ।