काठमाडौं– नायक सौगात मल्ल र नायिका सृष्टी श्रेष्ठको नाम अहिलेको नेपाली चलचित्रको रुचाईएको नाम हो। उनै जोडीको मुख्य भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’ लाई चैत्र २८ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ। छायाँङ्कनमै नगएको यो चलचित्रलाई चैत्र २८ मा रिलिज गर्न निर्माणपक्षलाई सहज भने छैन।
यो चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्दैछन्। चलचित्रको छायाँङ्कन चाडै नै शुरु हुने निर्माणपक्षले बताएपनि अझै शुरु भएको छैन। यसैले, चलचित्र छायाँङ्कन शुरु गरेर ३ महिनामै रिलिज गर्न निर्माणपक्षले ठूलै मिहिनेत गर्नुपर्ने हुन्छ। चलचित्रको चर्चाका लागि मात्र चैत्र २८ लाई प्रदर्शन मिति तोकिएको अड्कल समेत लगाइएको छ। यो चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ।
चलचित्रले सेरोगेसी बेबी र आमा अर्थात भाडाकी आमाको कथालाई उठान गर्नेछ।चलचित्रका वितरक करणले भने, ‘हामीले चैत्र २८ मा ल्याउने तयारी गरेका छौ। तर, चलचित्रको छायाँङ्कन नियूक्ति समयमा सकिएन भने समस्या हुनसक्छ। छायाँङ्कन निर्धारित समयमा नै सकियो भने चलचित्र चैत्र २८ मै रिलिज हुन्छ। उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गर्न लागेको चलचित्रका लागि अन्य कलाकार भने फाइनल भएका छैनन्। यो मितिमा ‘चपली हाइट–३ र प्रेमगीत–३’ आउने पक्का भईसकेको छ।