काठमाडौं– चिसो मौसममा घाममा बसेर बदाम खानुको छुट्टै मज्जा हुन्छ। स्वास्थ्यका लागि पनि बदाम निकै फाइदाजनक छ। यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको वृद्धिका लागि निकै आवश्यक हुन्छ। यदि दूध पिउन मन पर्दैन भने बदाम खानु एक उत्कृष्ट विकल्प हो।
तौल कम गर्छः
बदामले तौल कम गर्न निकै मद्दत पुर्याउँछ। बदाम खाएको लामो समयसम्म भोक लागेको महसूस हुँदैन। त्यसले आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ।भरपुर एन्टिअक्सिडेन्ट र मिनरल्स बदाममा एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा पाइने भएकाले यसले स्ट्रोक र मुटुसम्बन्धी समस्याको खतरालाई कम गर्छ। बदाममा पाइने ट्रिप्टोफेनले डिप्रेसनको समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ।
अत्यधिक फाइटोस्टेरोलको मात्राः
बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट जोगाउँछ। अमेरिकामा भएको एक अनुसन्धानअनुसार हप्तामा कम्तीमा पनि दुईपटक बदाम खाने गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो।
मेंगनिजका साथै मिनरल्सः
बदाममा मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ। यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियम एब्जोप्र्सन र ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ। विभिन्न शोधको रिपोर्टअनुसार बदाम खानाले मधुमेहको खतरा २१ प्रतिशत कम हुने गर्छ। यदि कसैलाई मधुमेह छ भने उसले डाक्टरको सल्लाहा लिएर बदाम खान सक्नसक्छ।
मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याटः
बदाममा मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट भरपुर मात्रामा पाइन्छ। विशेषगरी बदाममा पाइने फोलिक एसिडले रगतमा ब्याड कोलेस्ट्रोल कम गर्दै गुड कोलेस्ट्रोलको स्तर बढाउने गर्छ। यसले शरीरमा कोलेस्ट्रोलको स्तरलाई पनि ब्यालेन्स गर्नुका साथै कोरोनरी आर्टरी डिजिजबाट शरीरलाई सुरक्षित राख्ने गर्छ।
फोलिक एसिडको स्रोतः
बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ, जसले महिलाको प्रजनन् क्षमता वृद्धि गर्छ। यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ। गर्भावस्थाको शुरुआती दिनदेखि बदाम खान शुरु गरियो भने यसले शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ।
अन्य फाइदाः
विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्थाअघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदाम खाने गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ। यसबाहेक बदाम खानाले शिशुमा दम हुने खतरा पनि कम हुन्छ।
छालाका लागि उत्कृष्टः
बदाम छालाका लागि पनि निकै फाइदाजनक हुन्छ। बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ।
भरपुर भिटामिन सीः
बदाममा भिटामिन ‘सी’ भरपुर मात्रामा पाइन्छ, जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ।