काठमाडौं– प्रमोद खरेल नेपाली लोकपप र आाधुनिक गायनमा एक प्रसिद्ध नाम हो। शुक्रबार दिउँसो उनै प्रमोद पुतलीसडकको एक स्टुडियोमा गीत अभ्यास गरिरहेका थिए। उनी व्याण्ड सहित अभ्यासमा थिए। उनी व्याण्डको म्युजिकसँगै पूराना तथा नयाँ गीतहरु गाउँदैछन्। उनको यो अभ्यास आसामको एक कार्यक्रमको लागि हो। डिसेम्बर २७ बाट शुरु भएको ‘डेइजिङ फेस्टिभल’ मा प्रस्तुति दिनको लागि उनी असाम जान लागेका हुन्। प्रमोदले फेस्टिभलको अन्तिम दिन अर्थात् जनवरी ७ मा आफ्नो प्रस्तुति दिनेछन्।
डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट नै आयोजना भएको कार्यक्रम हो। उक्त कार्यक्रममा एशियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने छ। यो कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहले प्रस्तुति दिएका छन्।प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन्। उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो। प्रमोद आइतबार व्याण्ड सहित त्यता प्रस्थान गर्दैछन्। बीना व्याण्ड आसामा गीत सुन्ने चलन नभएकाले प्रमोद व्याण्ड सहित जान लागेका छन् । उनी भन्छन्, ‘व्याण्ड विना त आसाममा गीत नै सुन्नु हुन्न। ट्राकमा गाउने भनेको त नेपालमा मात्रै हो। अब भने म नेपालमा पनि व्याण्डलाई नै प्राथमिकता दिनेछु।’
आसामको ठुलो फेस्टिभलमा पहिलो नेपाली कलाकारको रुपमा सहभागी हुँदै गर्दा प्रमोद उत्साहित देखिए। प्रमोद भन्छन्, ‘पहिलो पटक जाँदैछु। त्यहाँ मैले नेपाललाई प्रतिनिधित्व गरिरहेको हुनेछु । मेरो हर प्रयास भनेको नेपाली संस्कृतिलाई चिनाउने नै हुनेछ।’प्रमोदले आफ्नो हिट गीतहरुलाई त्यहाँ प्रस्तुत गर्नेछन्। त्योसँगै पूराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिएका छन्। उनी भन्छन्, ‘मैले कुनै कुनै गीतहरुमा यहाँ र त्यहाँको संगीतलाई मिक्स गरेर गाएको छु। जसले हामीबीच झनै राम्रो सम्बन्ध स्थापित गरोस्।’
प्रमोदले आफूसँग गीत गाउनको लागि गायिका मिना निरौला पनि जाने बताए। प्रमोदले यो फेस्टिभललाई ‘भिजिट नेपाल २०२०’ को प्रचारको राम्रो थलो मानेका छन्। त्यहाँ पुगेर प्रमोदले नेपालले आयोजना गरेको ‘भिजिट नेपाल २०२०’ को विषयमा बोल्नेछन्। प्रमोद भन्छन्, ‘मैले उक्त स्टेजलाई सकेसम्म राम्रो सदुपयोग गर्नेछु। त्यहाँ भिजिट नेपालको बारेमा पनि जानकारी दिनेछु।’