लहान– भ्रमण वर्ष २०२० का लागि सिरहा जिल्लाको पाँच स्थलहरुलाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ। ऐतिहासिक सांस्कृतिक महत्व बोकेको सिरहाको लहानस्थित सलहेश फूलबारी, पकडीया गढ, राजदेवी पञ्चावती मन्दिर, जिल्लाको मैसोथास्थित राजा सलहेश गहबर क्षेत्र र कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबा ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समितिले जनाएको छ।
आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका सदस्य तथा लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले जानकारी दिएका छन्।
जिल्ला समन्वय समितिको पहलमा नेपाल सरकारले सूचीकृत गरेको सिरहाको प्रमुख पाँच पर्यटकीयस्थलमा भ्रमण बर्षभित्र करिब पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को रोशनको भनाइ छ।
भ्रमण वर्षभित्र सिरहा जिल्लालाई सलहेश सर्किटका रुपमा चिनाउने लक्ष्यसहित लहान नगरपालिकास्थित सलहेश फूलबारीलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका संयोजक अशोकलाल अमात्यले बताए।
पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थलमा सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवा सुविधाहरुको व्यवस्थासमेत मिलाइएको संयोजक अमात्यको कथन छ। संयोजक अमात्यका अनुसार भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरीमा नेपाल भ्रमणका लागि आएका करिब पाँच हजार भारतीय पर्यटकलाई जिल्लासँग जोडिएको भारतीय सीमावर्ती नाकामा स्वागत गरिएको छ।
समन्वय समितिले छुट्टाछुटै टोली बनाएर भारतसँग सीमा जोडिएको सिरहाको ठाडी, बरियारपट्टी र माडरमा भारतीय पर्यटकहरुलाई फूलमाला र गम्छाले स्वागत गरेको संयोजक अमात्यले जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन सिरहाका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा प्रचारप्रसारलाई तीव्रता दिएको हो।
सलहेश फूलबारी, राजदेवी पञ्चावती मन्दिर, पतारी पोखरीलगायतका धार्मिक क्षेत्र तथा बाबाताल जस्ता व्यापक पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरु रहेकाले त्यसको प्रचारप्रसारसँगै पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरुसमेत बनाएको जनाएको छ। पर्यटकका लागि होटलहरुमा उचित बाससँगै होमस्टे (घरवास) समेत निर्माण गर्न लागिएको संयोजक अमात्यले उल्लेख गरेका छन्।
(रासस)