एजेन्सी– युट्युब स्टार मिस्टर बिस्ट आफ्ना अनेक रोचक भिडियो बाहेक यसपटक अर्कै कामले गर्दा इन्टरनेटको दुनियाँमा चर्चाको शिखरमा पुगेका छन्। यतिबेला उनको युट्युबमा २ करोड ५० लाखभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन्।
युट्युबका आफ्नै एक ‘सब्सक्राइबर’ले दिएको चुनौतिलाइ स्विकार गर्दै उनी २ करोड वृक्षारोपणको अभियानमा लागेका छन्। वास्तविक नाम जिम्मी डोनाल्डसन भएपनि युट्युब च्यानलको मिस्टरबिस्ट नामबाटै चर्चित रहेका यिनले आफ्नो अभियानको लागि अहिले रकम संकलन गरिरहेका छन्।
उनको अभियानलाई एलन मस्क, ज्याक डोर्से लगायत चर्चित ब्यक्तिले समेत साथ दिएका छन्। अहिलेसम्म उनले यो अभियानबाट ८२ लाख डलर संकलन गरिसकेका छन्। यो वृक्षारोपण अभियानलाई ‘टिमट्रीजक्याम्पेन’ नाम दिइएको छ। अहिलेसम्म यो अभियानमा तीन लाख बढीले सहयोग गरिसकेका छन्।
स्पेस एक्स र टेस्ला कारका संस्थापक एलन मस्कले उनको अभियानलाइ १० लाख डलर मात्र सहयोग गरेनन् आफ्नो ट्विटर एकाउन्टको नाम परिवर्तन गरेर ‘ट्रीलोन’ नै बनाए। आर्बर फाउन्डेसन मार्फत कार्यान्वयन गरिने यो परियोजनाका लागि विश्वभर स्थानीय सहजकर्ता खोजिनेछ र प्राप्त हरेक डलर वृक्षरोपणका लागि प्रयोग हुनेछ। उनीहरूले यो अभियान २०२२ सम्म पूरा गर्ने लक्ष्य राखेका छन्।