काठमाडौं– शैली थ्रिएटरमा पछिल्लो समय धेरै नाटकहरुले मञ्चनको मौका पाएका छन्। त्यसैगरी नयाँ नाटक ‘विवाहको प्रस्ताव’ को मञ्चन शुरु भएको छ। शुक्रबारबाट उक्त नाटकको मञ्चन शुरु गरिएको हो। यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन्।रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’ लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ।
विवाह र विवाहको प्रस्तावको विषयलाई नाटकमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ। यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ। नाटकमा पात्रहरुले गलत काम गरिरहेका हुन्छन्। बिचबिचमा उनीहरुको असली हर्कत देखिन्छ। त्यसैलाई नाटकमा रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ।
नाटकमा सशांक बोहरा, स्नेहा पौडेल, सुवास सुवेदीको अनुहार देखिन्छ भने देबेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइली माक्स लगाएर मञ्चमा देखिन्छन्। शैली थ्रिएटर र रुसी साँस्कृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ।