काठमाडौं– अनुहारको सुन्दरता मात्र नभई हातगोडाको सुन्दरतामा पनि ध्यान राख्नु जरुरी हुन्छ। घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने मुख्य कारण बन्छ। तपाईंहरुको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै चम्काउन सक्नुहुनेछः
कागती– कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ। कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ। कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ।
गोलभेँडाको रस– गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने। केहीबेर राम्रोसँग मसाज गर्ने। हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ।
काँचो दूध– हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ। काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ।
बेसन– चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ। बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने। १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ।
आलुको रस– काँचो आलुको रस निकालेर हातमा लगाउने। लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने। एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ।