काठमाडौं- नेपालमा अंग्रेजी भाषा परीक्षा गराउने बेलायती च्यारीटी संस्था ब्रिटीस काउन्सिल माथि राजश्व छली आरोपमा अनुसन्धान सुरु भएको छ। ठूलो रकम कर छलेको विषयमा आन्तरिक राजश्व विभागलाई काउन्सिलमाथि अनुसन्धान गर्न पत्राचार गरिएको अर्थमन्त्रालयले जनाएको छ।
संसदीय समितिबाट पत्र प्राप्त भएपछि अनुसन्धानका लागि विभागलाई पत्र लेखेका राजश्व सचिव शिशिरकुमार ढुंगानाले बताएका छन्। काउन्सिलले भाषा परिक्षावापत लिनु पर्ने सरकारी स्वीकृति नलिई करोडौँको आर्थिक गतिविधि गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले समितिमा उजुरी गरेको मञ्चका अध्यक्ष ज्योती बानीयाले बताए।
काउन्सिलले अंग्रेजी भाषा सीप परीक्षा ‘आईएलटीएस’ र ‘ए लेभल’को परिक्षा सञ्चालन गर्दै आएको तर काउन्सिल नेपालमा दर्ता नरहेको तथा उसले गरेको आर्थिक कारोबार करको दायरा बाट बाहिर रहेको अाराेपमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंसिर दोस्रो साता उजुरी परेको थियो।
समितिमा भएको प्रारम्भीक छलफलमा वर्षमा ६५ हजार नेपालीले कम्तीमा पनि २० हजार रुपैयाँ तिरेर दिने परिक्षाको आर्थिक गतिविधि सरकारको नियमन बाहिर रहेको निस्कर्ष निकालिएको समितिका सदस्य एलपी साँवा लिम्बुले बताए।
यसै गरि काउन्सिलले लिने ए लेभल को परीक्षा शुल्कबारे पनि छलफल गरेको थियो। काउन्सिलको आर्थिक हिसाब करको दायरामा भए नभएको बारे जानकारी गराउन अर्थ र शिक्षा मन्त्रालयलाई परिपत्र गरिएको सांसद नरबहादुर धामीले बताए।