एजेन्सी– महामारी सार्सजस्तै रहस्यमयी रोग भेटिएपछि हङकङमा त्रास फैलिएको छ।
मुख्यभूमि चीनको वुहानबाट हङकङ आएका विरामीमा यो रोग देखिएको हो। यो २००३ तिर फैलिएको महामारी रोग सार्सजस्तै देखिएपछि सरकारले सबैलाई सतर्क रहन अपिल गरेको छ। ज्वरो र निमोनियाका लक्षण देखिने यस रोगका विरामीहरुलाई अस्पतालमा छुट्टै राखेर उपचार गराई रहेको छ।
हङकङकी स्वास्थ्य सचिव सोफिया चानले आइतबार हङकङमा थप ६ जनामा यस प्रकारको लक्षण देखिएको बताएकी थिइन्। त्यसपछि पनि दुई जनामा यो रोगको लक्षण देखिएको छ। स्थानीय अस्पतालमा उपचार भइरहेको उनीहरुको स्वास्थ्य अबस्था स्थिर रहेको बताएकी छन्।
हङकङमा यस रोगका विरामीको संख्या १६ पुगेको छ। हङकङमा पहिलो पटक गत ३१ डिसेम्बरमा यो रोगको लक्षण देखा परेको थियो। वुहानमा यो रहस्यमयी रोगबाट ग्रष्त विरामीको संख्या ४४ बाट बढेर ५९ पुगेको छ। जसमध्ये ११ बिरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।
२००३ मा सार्स महामारीले विश्वभर ७७४ जनाको ज्यान लिएको थियो भने हङकङमा मात्र ३०० जनाको ज्यान गएको थियो।