काठमाडौं– प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दै छ। आजको बैठकमा प्रदेशको राजधानीको प्रस्ताव पेश गरिने छ।
प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा आज छलफल हुने र भोलि मतदान हुने बताए। प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन्।
पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले बताए। त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको जानकारी दिए।
राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ। निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताएका छन्।
निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले बताए।