राजविराज – राष्ट्रियसभा सदस्य पदका लागि आफ्नै दाजुभाइ फेरि एकपल्ट प्रतिस्पर्धी बनेका छन्। आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि आइतबार राजपाबाट उम्मेदवारी मनोननयन पत्र दर्ता गराएका सप्तरीको बोदेबसाइन नगरपालिका ५ निवासी मृगेन्द्रकुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका अनिरुद्धप्रसाद सिंह यादव सहोदर दाजुभाइ हुन्।
सहोदर दाजुभाइकाबीच यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि भिडन्त भएको थियो। त्यसतिबेला मृगेन्द्र तत्कालीन मधेशी जनअधिकारी फोरम (लोकतान्त्रिक) बाट र अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए।
मृगेन्द्र भाइ अनिरुद्धभन्दा बढी मत ल्याउन सफल भए पनि काँग्रेसका उम्मेदवार सुरेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए। दाजुभाइ विभाजित भइ चुनाव लड्दा मत विभाजन भएर काँग्रेसलाई फायदा पुग्ने भन्दै समर्थकले दाजुभाइलाई एउटै क्षेत्रबाट एकअर्का्विरुद्ध चुनाव लड्न नहुने सुझावसमेत दिएका थिए। तर, दुबैजनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण तथा उनीहरू आवद्ध पार्टीले पनि सोही क्षेत्रबाट चुनाव लड्न भनेपछि दाजुभाइ एकअर्का्विरुद्ध चुनावी मैदानमा होमिएका थिए।
राजपा नेपालले राष्ट्रियसभामा दुई सिटका लागि नेकपासँग सहकार्य गरेपछि सो पार्टीका तर्फबाट उम्मेदवार बनेका मृगेन्द्र र अर्का उम्मेदवार शेखर सिंहको जित लगभग सुनिश्चित ठानिएको छ। तर, समाजवादी पार्टीले पनि काँग्रेससँग सहकार्य गर्दै उम्मेदवारी दिएकाले तथा केही मत क्रस भोटिङ हुन सक्ने प्रवल सम्भावना रहेकाले समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध र अर्का उम्मेदवार रामपृत पासवानलाई पनि कमजोर ठान्न नमिल्ने एकथरीको भनाइ छ।
प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन्। जसमा प्रमुख उपप्रमुख गरी २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरी कुल ३ सय ७९ मतदाता छन्। जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १ सय २७ मत गरी १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेश सभातर्फ ४९ र स्थानीय तहतर्फ १ सय ३३ मत गरी १ सय ८२ मत रहेको छ। यस्तै नेपाली जनता दलको २ र संघीय समाजवादी पार्टीको एक मत रहेको छ।
क्रस भोटिङ, खरीद बिक्री लगायतका उलटफेर नभए राजपा–नेकपा गठबन्धन उम्मेदवारको जित लगभग सुनिश्चित् मानिन्छ। तर, गोप्य मतदान भएकाले जे पनि हुन सक्ने भन्नेहरुको कमी पनि छैन। यता दाजुभाइमा कसले बाजी मार्ला? भन्ने बारे अहिले निकै तर्क बितर्क र बहस हुन थालेको छ। चिया गफमा समेत मृगेन्द्र र अनिरुद्ध दाजुभाइकै उम्मेदवारी विषय बनिरहेका छन्। सबैले दाजुभाइमा कसको कति मत आउँछ भन्ने विषयमा अडकलबाजी गरिरहेका छन्।
राष्ट्रियसभाका १९ सांसदको २ वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ। संविधान अनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नु पर्छ। सोही व्यवस्था अनुसार माघ ९ मा निर्वाचन हुन लागेको हो।