एजेन्सी–इराकको संसदले आइतबार त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ।
अमेरिकाले इराकमा हवाई आक्रमण गरी इरानका मुख्य सैनिक जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले सो निर्णय गरेको थियो।
इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले इराकका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए।
इराकले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट बनेका छन्।ट्रम्पले इराकमा अमेरिकाको महँगो मूल्यमा निर्माण भएको सैन्य बेस क्याम्प भएकाले पैसा फिर्ता दिए मात्र सेना फिर्ता बोलाउने प्रतिक्रिया जनाएका छन्।
ट्रम्पले आइतबार पत्रकारहरुसँग भने, इराकमा हाम्रो असाधारण महँगो सैन्य बेस क्याम्प छ। जसलाई बनाउने अरबौं डलर लागेको छ। उनीहरुले पैसा फिर्ता नदिएसम्म हामी सेना फिर्ता बोलाउँदैनौं।’
इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन्।
त्यहाँ दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन्। बीबीसी