काठमाडौँ — ट्राफिक प्रहरीसमक्ष यातायात व्यवसायीहरुले १९ बुँदे प्रतिबद्धता जनाएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालको संयोजनमा आइतबार महासाखाका सरोकार वाला पक्ष नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदूर ट्रेड युनियनका प्रतिनिधिलगायत सरोकारवालासँगको छलफल गरेका थिए। छलफल पश्चात यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन्।
जहाँ तोकिएको भाडा दरमात्र लिने, ढाको खुल्ला गरी गाडी नचलाउने, आरक्षण सिटको पालना गर्ने, झ्याल र सिटको अवस्था ठीक राख्ने, गाडीको रंगरोगन दुरुस्त राख्ने प्रतिबद्धता जनाइएको छ। यस्तै क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र ओराल्ने, चालक र सहचालक भद्र हुनुपर्नेलगायतका प्रतिवद्धता पनि जनाइएको छ।
ट्राफिक प्रहरीले १९ बुँदे कार्यान्वयन भए–नभएकोबारे अनुगमनको लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा ८ सदस्सीय अनुगमन समिति समेत गठन गरेको जनाइएको छ।
