चितवन — भरतपुरमा माघ २४ गते देखी २८ गतेसम्म पाँचौँ क्यान मेला हुने भएको छ।
‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षासम्बन्धी सामग्री, मोबाइल, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने र कलेज एवम् परामर्शदाताका ८१ कक्ष रहनेछ।
क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुसालका अनुसार सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उदेश्यले मेला आयोजना गरिएकाे बताए।
उनले सूचना प्रविधि, मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नाका साथै युवापुस्तालाई सक्षम, स्वावलम्बीर प्रविधिमैत्री जनशक्ति निर्माण गर्न मेलाले सहयोग पुर्याउने बताए।
मेलामा आईटीसम्बन्धी अन्तरक्रिया, विभिन्न प्रतियोगिता, डिजिटल नेपाल प्रविधि प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोबोटिक्स प्रदर्शनी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी सचेतना कार्यक्रम राखिने छ।