एजेन्सी– विश्व साहित्य जगतको एक उच्च नाम हो, विलियम शेक्सपयिर। सन् १५६४ को अप्रिल महिनामा इंल्याण्डमा जन्मिएका शेक्सपयिर कवि तथा विश्वको सबैभन्दा महान् नाटककार हुन्। उनलाई इंल्याण्डको राष्ट्रिय कविका रुपमा पनि व्याख्या गरेको पाइन्छ।
१८ वर्षको उमेरमा नै वैवाहिक सम्बन्धमा गाँसिएका उनले सन् १५८५ देखि १५९२ सम्ममा आफ्नो करियरको सफल यात्रा शुरु गरिसकेका थिए। बहुमुखी प्रतिभाका धनी शेक्सपियरले जीवन, प्रेम, मृत्यु, बदला, शोक, ईष्या, हत्या, जादू र रहस्यलाई मुख्य आधार बनाएर आफ्नो रचनाहरुको सिर्जना गरेका थिए।
‘रोमियो जुलियट’ उनको विश्व प्रसिद्ध साहित्य हो। विश्वमा यो साहित्यको बारेमा थाहा नपाउने व्यक्ति विरलै होलान्। अमर प्रेम कथामा आधारित उक्त साहित्यले विश्वका हरकोहि मान्छेको मन जितेको छ। साहित्यमार्फत मानिसहरुले आफ्नो जीवनका भोगाईहरु विस्फोट गराइरहेका हुन्छन्।
सानैदेखि साहित्य रसमा डुबेका शेक्सपियरले पनि आफ्नो जीवनका अनुभवहरुलाई नाटक, कवितामार्फत प्रस्तुत गरेको देखिन्छ। उनको प्रसिद्ध नाटकहरुमा ह्यामलेट, ओथेलो, किङ लियर, म्याकवेथ रहेका छन्।
शेक्सपियरले धेरै कविता पनि लेखेका छन्। उनले सन् १६०९ मा १५० सोनेटको पुस्तक प्रकाशित गरेका थिए। शब्दज्ञानको भण्डार मानिने उनी शब्दहरूसँग खेल्नको लागि माहिर मानिन्थे। उनी एक्लैले १७ सयभन्दा बढी शब्दहरुको आविष्कार गरेका छन्।
यसरी अपत्यारिलो रुपमा साहित्य जगतमा प्रवेश गरेका शेक्सपियरको कृतिहरु आज पनि उत्तिकै चर्चामा छन्। साहित्यमा यही समयमा प्रवेश गरे भन्ने ठ्याक्कै मिति उल्लेख नभएपनि पनि उनमा साहित्यप्रतिको लगाव भने बच्चादेखि नै रहेको पाइन्छ।
विश्व साहित्यमा छुट्टै तरङ्ग दिन उदाएका अलौकिक साहित्यकार शेक्सपियर सन् १६१६ मा सधैंको लागि अस्ताएका थिए। तर उनका रचनाहरु आज पनि कालझैं छन्।