एजेन्सी– बलिउड सिनेमामा अहिले बक्स अफिसमा कसको राज चल्छ भन्ने होडबाजी हुन थालेको छ। यसको जवाफ एक साताको अन्तरमा रिलिज भएका २ चलचित्रको व्यापारले पनि दिनेछ। डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग–३’ को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ ले उछिनेको छ।
‘दबंग–३’ ले रिलिज भएको तेश्रो सातामा १५० करोडको आँकडा पार गरेको छ। तर, ‘गुड न्यूज’ ले रिलिजको दोश्रो साता चलिरहँदा नै १५० करोडको आँकडा पार गरिसकेको छ। यो चलचित्रले दोश्रो साताको शुक्रबार ८.१० करोड, शनिबार ११.७० करोड र आइतबार १४.४० करोडको व्यापार गरेको छ। योसँगै चलचित्रको व्यापार १६२ करोड पुगेको छ। चलचित्रले बक्स अफिसमा २ सय करोड कमाउने अपेक्षा गरिएको छ। यो चलचित्रले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको नायक सलमान खान अभिनित चलचित्रले भने १५० करोडको आँकडा मुश्किलले पार त गरेको छ। तर, चलचित्रलाई यो भन्दा अगाडि त्यति सहज छैन। नायिका करिनाले यो चलचित्रबाट अभिनयको एकदमै तारिफ पाएकी छिन्।