एजेन्सी– यहाँ ३६ औँ हारबिन बरफ तथा हिउँ महोत्सव शुरु भएको छ। याे उत्सवमा भाग लिन चीन तथा चीनबाहिरका थुप्रै मानिस हारबिनमा भेला भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी हार्बिन नगर समितिको साइबर स्पेस एडमिनिस्ट्रेशन, हार्बिन संस्कृति तथा पर्यटन ब्यूरो र सिआरआई अनलाइनको संयुक्त आयोजनामा आइतबार शुरु भएको याे महोत्सवमा विदेशका विशिष्ट व्यक्तित्वको पनि सहभागिता छ।
यो अवसरमा सहभागीले बरफमा कोरिएका कला र मूर्ति दृश्यावलोकन गरी आनन्द महसुस गरेका छन्। हारबिन बरफ तथा हिउँ संसार, ध्रुवीय मण्डप, स्नो एक्स्पो र स्किङ महोत्सवका मुख्य आकर्षण हुन्।
विश्वको सबभन्दा चिसो शहर हारबिन एशियाको प्रसिद्ध सङ्गीत नगर पनि मानिन्छ जसलाई संयुक्त राष्ट्र सङ्घले सन् २०१० मा सङ्गीत राजधानी नाम दिएको थियो।
हारबिन रुसी वास्तुकलाका लागि प्रख्यात छ। महोत्सवकै सिलसिलामा विश्व हिउँ तथा बरफ नगर गोष्ठी तथा हिउँ एवं बरफ पर्यटन उद्योग सम्मेलन पनि आयोजना गरिएको छ्।
हेलङजियाङ प्रान्तको राजधानी हारबिन विगतमा चीनबाट रुस एवं युरोप प्रवेश गर्ने प्रमुख द्वार थियो। रुसी वास्तुकलाका लागि प्रख्यात ४ लाख ५४ हजार ८०० वर्ग्मिलोमिटरमा फैलिएको सो प्रान्तमा करीब ३ करोड ६८ लाख जनसङ्ख्या छ्। याे प्रान्तमा ३५ जनजाति रहन्छन् जो मत्स्यपालन, शिकार र पशुपालनबाट जीविका चलाउँछन्। रासस