काठमाडौं– नेपाली चलचित्रका अवार्डहरु एकपछि अर्को गरेर विदेशमा भईरहेको अवस्थामा चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ। यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो। विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन। काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा नेफ्टाले यो बर्षको अवार्ड चैत्र १५ गते आयोजना गर्ने जानकारी दिएको छ।
यो बर्ष नेफ्टाले अवार्ड कार्यक्रम ‘ड्रिम हाइ नेपाल’ सँग सहकार्य गर्दै आयोजना गर्न लागेको हो। ‘ड्रिम हाई नेपाल’ ले नेपालमा थुप्रै कार्यक्रमहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ। यसअघि नायक अनमोल केसीको कन्सर्ट पनि यही संस्थाले गरेको थियो। यसका प्रमुख कमल जीसीले भने, ‘नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई हेरेर हामीले सहकार्य गरेका हौं। टुँडिखेलमा भव्यताका साथ अवार्डको आयोजना हुनेछ।’
नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै यो बर्ष अवार्ड कार्यक्रम नेपालमै आयोजना गर्न लागेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए। विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ। साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ।घोषणा कार्यक्रममा नायक राजेश हमाल, भूवन केसी लगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए।
कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए। उनले, चलचित्रकर्मीहरुलाई पर्दामा प्रहरीले गरेका राम्रा कुराहरुलाई पनि बिषयवस्तु बनाइदिन आग्रह गरे। कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वलाई स्वागत समेत गरिएको थियो।