तस्विरः अनलाइन खबरबाट
काठमाडौं– लोकप्रिय कलाकार कामेश्वर चौरसियाको अभिनय दमदार छ, जसको मूल्याङ्कन धेरैले गरिरहेका छन्। तर, उनी चलचित्र क्षेत्रमा व्यस्त छैनन्। धेरैले उनी घमण्डी भएका कारण पनि उनीसँग काम गर्न मान्दैनन् भन्ने चर्चा सुन्ने गरिन्छ। उनै, कामेश्वर नायक विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ मा देखिदैछन्। यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ। कलाकार चौरासियाले भने, ‘जतिबेला विराज भट्टको फोन आयो, म काम पाइएन भन्दै गाउँ फर्कदै थिएँ।
अमिताभ बच्चन पनि चलचित्रमा काम नपाएर घर फर्किदै गर्दा एक जना निर्देशकले उनलाई फोन गरेका थिएँ भन्ने सुनेको थिएँ। विराज दाइको फोन आउँदा मैले आफूलाई अमिताभ नै महशुश गरेँ।’ काठमाडाैंमा केही भएन भनेर फर्कदै गर्दा विराज भट्टले कामेश्वरलाई फोन गरेका थिए। विराजले पनि कामेश्वरलाई ‘तिम्रो समस्या के हो, कोही काम नै गर्न चाहदैन, भनेर सोधेका थिए। जसमा कामेश्वरले ‘नचिनेर होला’ भन्ने जवाफ फर्काएका थिए।
उनले, आफू कसैसँग पनि त्यति घुलमिल नहुने भएकाले पनि यस्तो चर्चा चलेको हुनसक्ने बताए। कामेश्वरलाई भोजपुरी चलचित्रमा पनि काम गर्ने रहर छ। उनले भने, ‘विराज भट्ट जस्तो मानिस त भोजपुरी चलचित्रमा जान सक्नुहुन्छ भने म त भोजपुरीकै मान्छे, किन जान सक्दिनँ भन्ने सोच आयो। विराज दाइले मलाई यतीसम्म सोच्ने बनाइदिनु भएको छ।’ आगामी दिनहरुमा उनको यो समस्या नदोहोरियोस्।