काठमाडौं– नक्कली स्मार्ट लाइसेन्स बनाउने न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरीएको छ। सातदोबाटोमा एक सवारीचालकको साथबाट बरामद भएको लाइसेन्स नक्कली प्रमाणित भएपछि त्यस्तो कार्ड प्रिन्ट गरी विक्री गर्ने गिरोहसम्म प्रहरी पुगेको हो।
सरकारले हालसम्म झण्डै साढे १० लाख स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण गरिसकेको छ। तर, ती स्मार्ट लाइसेन्स परीक्षण गर्न ट्राफिक प्रहरीसँग जम्मा दुईवटा रिडर मेसिन महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा मात्रै छन्। प्रहरीले शंकास्पद स्मार्ट लाइसेन्स भेट्न थालेको २ वर्षभन्दा बढी भइसकेको छ। तर, अझै पनि स्मार्ट लाइसेन्सको परीक्षण गर्ने मेसिन ड्यूटीमा बस्ने ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छैन।
जस कारण कतिपय अवस्थामा लाइसेन्स शंकास्पद लागे पनि फिल्डमा लाइसेन्स जाँच्ने मेसिन उपलब्ध नहुँदा त्यसै छाड्न ट्राफिक प्रहरी बाध्य भएको महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए। उनका अनुसार आँखाले हेर्दा र छाम्दा शंकास्पद ठहराएका लाइसेन्स ट्राफिक प्रहरीले बरामद गरेर बग्गीखानामा पठाउने गरेको छन्। स्मार्ट लाइसेन्स रिड गर्ने हाते मेसिन अब ट्राफिक प्रहरीका सबै युनिटमा अनिवार्य भइसकेको उनको भनाइ छ।
काठमाडौं उपत्यकामा मात्रै ट्राफिकका ४४ वटा युनिट छन्। अन्य सबै जिल्लामा कम्तिमा एउटा युनिट छन्। विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनाल विभागका तर्फबाट कमजोरी भएको स्वीकार्दैै विभागमा यस्तो जाँच्ने मेसिन आएर पनि थन्किएर बसेको बताएका छन्। विभागमा स्मार्ट लाइसेन्स छपाइको जिम्मा लिएको मद्रास प्रिन्टर्सले लिएको थियो। जसले एकैपटक एक सयवटा जाँच्ने मेसिन ल्याएको थियो।
ती मेसिन केही यातायातका लाइसेन्स कार्यालयमा पठाइएको छ। यद्यपीे सफ्टवेयरको समस्याका कारणले काम भइरहेको छैन। केही मेसिन लाइसेन्स छाप्ने युनिटमा नै प्राविधिकले प्रयोग गरिरहेका छन् भने केही मेसिन विभागकै गोदाममा थन्किएका छन्।सरकारले नक्कली लाइसेन्सको विगबिगी भएपछि स्मार्ट लाइसेन्स प्रयोगमा ल्याएको हो।
वितरण सुरु गर्ने समयमा नै ट्राफिक प्रहरीको हात–हातमै ह्यान्ड होल्डरिडर मेसिन दिने र नक्कली लाइसेन्स ‘अन द स्पट’ पत्ता लगाएर जफत गर्न सकिने भनिएको थियो। तर, जाँच्ने मेसिन नै नभएपछि स्मार्ट लाइसेन्स ल्याउनुको औचित्य नै प्रमाणित भएको छैन्।
विभागले स्मार्ट लाइसेन्सलाई जाँच्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन सबै ट्राफिक प्रहरी युनिटको पहुँचमा नदिँदा समस्या बढेको छ। अहिले ट्राफिकले स्मार्ट लाइसेन्स जाँच गर्न र त्यसैमा कारबाहीको डाटा राख्न पाएको छैन। यसैकारण चालकलाई नियमन र निगरानी गर्न अन्योल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा बताउँछ।
विभागले करिब ७ लाख लाइसेन्स वितरणको लागि छपाइको काम गर्दैछ, त्यसका लागि ठूलो मेसिन ल्याएर काम भइरहेको छ। ५ महिनाभित्रै यो छाप्न बाँकी लाइसेन्स सर्वसाधारणको हातमा पुग्ने दावी गरिएको छ। स्मार्ट लाइसेन्समा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ। जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छन्। कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राख्न सकिन्छ।