एजेन्सी– हालै अमेरिकामा सम्पन्न भएको गोल्डेन ग्लोब्स अवार्डले हलिउड अभिनेता टम ह्यान्क्सलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ। भर्खरै सम्पन्न गोल्डेन ग्लोब्समा टमलाई उनको ३० वर्ष लामो सिनेमा यात्राका लागि लाईफ टाइम अचिभमेन्टले सम्मानित गरिएको हो। ६३ वर्षे टमलाई सेसिल बि. डिमिल अवार्डले सम्मानित गरियो।
यो अवार्ड वार्षिकरुपमा लामो समय सिनेमामा प्रभावशाली योगदान दिने सिनेकर्मीलाई प्रदान गर्ने गरिन्छ। टमअघि यस अवार्डबाट स्टेभन स्पेलवर्ग, मेर्ली स्ट्रिप, ओफ्रा विन्फ्रे, जेफ ब्रिजेज् र ह्यारिसन फोर्ड सम्मानित भइसकेका छन्। टम यस संस्करणको गोल्डेन ग्लोब्स अवार्डमा ‘अ ब्यूटिफूल डे इन द नेभरहुड’ सिनेमाबाट सह अभिनयका लागि प्रतिस्पर्धी समेत थिए।
सन् १९७९ बाट सिनेमा करियर सुरु गरेका टमले त्यसको १० वर्षपछि सन् १९८८ मा गरेको ‘बिग’ सिनेमाबाट ठुलो चर्चा पाएका थिए। त्यसपछि सन् १९९४ र ९५ मा लागालग ‘फिलाडेफिया’ र ‘फरेस्ट गम्प’ सिनेमाका लागि ओस्कार जितेका थिए। करिब ७० बढी सिनेमामा काम गरेका टमका ‘स्पिललेस इन सियाटल’,‘सेभिङ प्राइभेट रायन’, ‘सली’ जस्ता सिनेमामा गरेका कामका लागि उनी चर्चित छन्।