विराटनगर_ प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता बलियो बनाउन कानून समयमै निर्माण हुनुपर्ने बताए।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तरसरकारी सम्बन्ध विषयक उच्चस्तरीय अन्तक्र्रिया कार्यक्रममा उनले सङ्घीयताको मुटु प्रदेश भएकाले प्रदेश बलियो भएमा सङ्घीयता बलियो हुने धारणा राखे।
सभामुख प्रदीपकुमार भण्डारीले केन्द्रिकृत भावनाले शासन सञ्चालन गरे जटिलता आउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मूलमर्म सङ्घीयता रहेको उल्लेख गर्दै लोकतन्त्रलाई बलियो बनाउन स्थानीयस्तरको क्षमता अभिवृद्धि हुुनुपर्ने बताए।
उपसभामुख सरस्वती पोखरेलले सङ्घीय सरकारले सही ढङ्गले अभिभावकत्व प्रदान गरे समस्या नआउने भन्दै पटक–पटक मर्यादाक्रम बदलिनुले पनि समस्या भइरहेकामा जोड दिए। प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशमा अहिले पनि एक हजार ४०० कर्मचारी अपुग भएका कारणले धेरै समस्या देखिएको बताए।
केन्द्रिकृत शासन सञ्चालन गर्ने सोच सरकारले परित्याग गर्नुपर्ने धारणा सहभागीले राखेका छन्। सङ्घीय सरकारले समयमा कानून निर्माण गर्न नसक्दा प्रदेश सरकार सञ्चालनमा कठिनाई आइरहेकामा सहभागीले गुनासो गरेका छन्। सङ्घीय सरकारले प्रहरी ऐन, लोकसेवा ऐन, शिक्षा ऐन समयमा बनाउन नसक्दा प्रदेशमा समस्या उत्पन्न भएका कारण प्रदेश सरकारले धेरै कुरामा तीव्रता लिन नसकेको पनि सहभागीले बताएका छन्।
प्रदेशसभा सदस्य लक्षुमण तिवारी, जयराम यादव, सर्वध्वज साँवाले सो धारणा राखेका हुन्। आयोजकका तर्फबाट विज्ञ डा विपीन अधिकारीले सङ्घीय अन्तरसम्बन्धः केही समस्या र समाधानका उपाय विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रपछि भएको छलफल अघि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विष्णुप्रसाद लम्सालले तालीम र क्षमता विकास गर्ने प्रतिष्ठानले आयोजना गरेको यो कार्यक्रमबाट निस्किएका निष्कर्षलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताए। रासस