नवलपुर– देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ। गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो। बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो। हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।
यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ। चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले जानकारी दिए। उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ’, चराविद्समेत रहनुभएका बिडारीले भने, ‘नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।
कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ। सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए। गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए। सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ।
अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो। चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ। चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन्। (रासस)