एजेन्सी – सोमबार इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लियारीमाथि ४–० गोलको फराकिलो जित सँगै रोनाल्डोले ह्याट्रिक गरेको छ।
निकै प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा युभेन्टसले अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन। दोस्रो हाफमा भने घरेलु टोलीले ४ गोल गर्दै जित हासिल गर्यो। रोनाल्डोले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए।
रोनाल्डोले नै ६७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे। ८१ औं मिनेटमा रोनाल्डोको पासमा अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिगुआइनले गोल गर्दै ३–० ले अगाडी बढाए। लगत्तै रोनाल्डोले डग्लस कोस्टाको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
रोनाल्डोले पछिल्लो वर्षको लयलाई नयाँ वर्षमा पनि कायम राखेका छन्। उनले पछिल्लो ५ खेलमा ९ गोल गर्दै सिजनको सुरुवातमा कमजोर रहेको गोलसंख्या मजबुत बनाएका छन्। यस जितसँगै युभेन्टसले १८ खेलमा ४५ अंक जोडेको छ।
यसैगरी इटालियन लिगमा फर्किएका फरवार्ड ज्लाटन इब्रहिमोभिचको जादु भने पहिलो खेलमा चल्न सकेन। एसी मिलान घरेलु मैदानमा साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिँदा इब्राले गोल गर्न सकेनन्। उनी खेलको दोस्रो हाफमा क्रिस्टोफ पियातेकको स्थानमा मैदान प्रवेश गरेका थिए।
एसी मिलान अंक तालिकाको ११ औं स्थानमा रहेको। मिलानले १८ खेलमा २२ अंक मात्र जोडेको। मिलान युरोपेली प्रतियोगिता खेल्ने कम्तिमा छैटौं स्थानभन्दा ७ अंकले पछाडी छ।