काठमाडौं– कागतीलाई हामीले पानी, चिया अचार आदिमा मिसाएर खाने गर्दछौ। कतिपय मानिसहरुले कागतीलाई औषधिकै रुपमा पनि लिइने गरेको पाइन्छ।
कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो। कागतीको प्रयोग आजभोलि निकै बढेको छ। त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ। कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ।
कागती कुन रोगका लागि किफायतीः
घाँटी बसेमा– मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान(बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ।
ओठ फुट्ने भएमा– दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ। चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ।
दाद रोगमा– पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ। कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ।
खाएको नपच्ने भएमा– छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने। बिहान–बेलुका खाना खानु अगाडि सो अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ।
ढाड दुखेमा– दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ।