काठमाडौं– हिजोआज चिसो अत्यन्त बढेको छ, चिसो बढेका कारण न्यानो लुगा वा न्यानो वातावरणमा बसेता पनि यसको अलवा खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ। जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ।
प्रसस्त झोलीलो कुराहरू जस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन्। यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ। जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिएमा जाडोको फ्लुबाट जोगिन सकिन्छ।
भिटामिन सी युक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ। त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ। यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ। बिहान एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।
बेलुकाको समयमा पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ। सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ। बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ।
राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ। यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमोनियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ। यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन्।