एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा खेलाडी रेनीअर जेससलाई अनुबन्ध गर्ने भएको छ। रेनीअर जनवरी १९ को दिन १८ वर्ष पूरा भएपछि औपचारिक अनुबन्धन हुनेछ।
रियलले रेनीअर १८ वर्ष पुगेपछि मात्र औपचारिक रुपमा अनुबन्धन गर्न प्रस्ताव अगाडि सारेको हो। दुवै क्लब र खेलाडीबीच अनुबन्धनलाई लिएर मौखित सम्झौता भैसकेको छ। फिफाले १८ वर्ष मुनिका खेलाडी अनुबन्धनमा कडाइ गरेपछि रियलले केहि दिन प्रतीक्षा गर्ने भएको हो।
रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए। बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए। तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो।
रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ। उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन्। यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए। कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन्।