एजेन्सी– जापानबाट भागेर लेबनन पुगेका निसान कर्मचारीका पूर्वप्रमुख कार्लोस गोनलाई फिर्ता गर्न जापानले लेबननलाई दबाव दिइरहेको छ।
टोक्योस्थित निवासमा नजरबन्दमा राखिएका गोन डिसेम्बर २९ मा रेल चढेर ओसाका गएका थिए। त्यहाँ एउटा निजी विमानमा चढेर उनी टर्की हुँदै नाटकीय शैलीमा लेबनन पुगेको बताइन्छ।
गोनसँग लेबनन, ब्रजिल र फ्रान्सको राहदानी छ। लेबननले आफ्ना नागरिक अरू देशलाई सुम्पिँदैन। तर जापानले गोनलाई सुपुर्दगी गर्न लेबननलाई अनुरोध गर्ने बताएको छ। प्रकाशित विवरणहरूका अनुसार ओसाकामा उनलाई एउटा फ्लाइट केसमा राखेर टर्की उड्न लागेको विमानमा चढाइएको थियो। टर्कीबाट उनी लेबनन गएको बताइएको छ।
घरबाट एक्लै निस्किए
सन् २०१८ को नोभेम्बरमा आर्थिक अपचलनको आरोपमा पक्राउ पर्नुअघि गोनले जापानी कारनिर्माता कम्पनी निसानको नेतृत्व गरेका थिए। पछि उनी धरौटीमा मुक्त भए। तर उनलाई पत्नीसँग भेट्न प्रतिबन्ध लगाइएको थियो। तर २०१९ को डिसेम्बर अन्तिम साता ६५ वर्षीय गोन नाटकीय रूपमा भागेर लेबनन पुगे। उनी लेबननका नागरिक हुन्। उनकी पत्नी लेबननमै थिइन्।
सीसीटीभी क्यामरामा उनी टोक्योस्थित निवासबाट स्थानीय समयानुसार दिउँसो २स्३० बजे एक्लै बाहिर निस्किएको देखिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि उनले एउटा होटलमा दुई व्यक्तिलाई भेटेको र तिनले उनलाई शिनागावा स्टेशन र्पुयाई ओसाका जाने रेल चढाएको बताइएको छ।
विवरणहरूका अनुसार ओसाकामा उनीहरू तीनै जना कान्साई विमानस्थलनजिकै एउटा होटलमा बसेका थिए। उक्त होटलबाट गोन निस्किएको देखिएन। तर अन्य दुई व्यक्ति दुई ठूला बाकस लिएर निस्किएको सुरक्षाका लागि जडान गरिएका क्यामरामा देखिएको विवरणहरूमा उल्लेख छ।
वाल स्ट्रीट जर्नलका अनुसार गोनलाई एउटा फ्लाइट केसमा राखेर टर्की जाने एउटा निजी विमानमा चढाइयो। ठूला साङ्गीतिक कार्यक्रममा प्रयोग हुने उपकरण ढुवानी गर्न उनलाई लुकाइएको जस्तो फ्लाइट केस उपयोग गरिन्छ। गोनलाई सास फेर्न सजिलो होस् भनेर उक्त केसमा प्वाल पारिएको वाल स्ट्रीट जर्नलले जनाएको छ। विमानस्थलमा कुनै सुरक्षाजाँचबिना नै उक्त केसलाई विमानमा चढाइयो।
‘अनुचित उपाय’
जापानको न्याय मन्त्रालयले गोनले देश छोडेको अभिलेख आफूसँग नभएको बताएको छ। सोमवार आयोजित पत्रकार सम्मेलनमा न्यायमन्त्री मासाको मोरीले भनिन्, उनले गैरकानुनी रूपमा देश छोड्न अनुचित उपाय अवलम्बन गरेको भन्ठानिएको छ।
“मैले अध्यागमन निकायलाई प्रस्थानको प्रक्रियालाई अझ कडा बनाउन निर्देशन दिएकी छु,’’ उनले भनिन्। जापानबाट भागेपछि गोनले सञ्चारमाध्यमलाई कुराकानी गरेका छैनन्। तर उनले बुधवार एउटा पत्रकार सम्मेलन गरी मौनता भङ्ग गर्ने अपेक्षा राखिएको छ।
गत हप्ता एउटा विज्ञप्ति प्रकाशित गर्दै उनले आफू एक्लैले जापानबाट बाहिर जाने व्यवस्था गरेको दाबी गरेका थिए। त्यसअघि उनकी पत्नी तथा परिवारका अन्य सदस्यले गोनलाई भाग्न सघाएको अनुमान गरिएको थियो। आफूले जापानमा आर्थिक अनियमितता गरेको आरोप अस्वीकार गर्दै गोनले जापानी न्यायप्रणालीमा धाँधली हुने दाबी गरेजका छन्।
नायकको छवि
ब्रजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निसान तथा रेनो कम्पनीलाई झन्डै टाट पल्टिनबाट जोगाउन सफल भएका भनेर परिचित छन्। निसान कम्पनीको कायापलट गरिदिएको भन्दै एक समय उनलाई जापानमा नायकको रूपमा हेरिन्थ्यो।
सन् २०१८ मा पक्राउ परेपछि उनी १०८ दिन हिरासतमा बसे। जमानतमा छुट्दा उनीमाथि जापानबाहिर जान नपाउनेदेखि अन्य विभिन्न किसिमका प्रतिबन्धहरू लगाइएको थियो। उनीमाथि चार वटा अभियोग लगाइएको छ। निसानले उनले आफ्नो लाभका कम्पनीको रकम प्रयोग गरेको दाबी गरेको छ। उनलाई आफ्नो तलब कम देखाएको आरोप पनि लागेको छ।
पक्राउ परेको तीन दिनपछि उक्त कार उत्पादक कम्पनीले गोनलाई पदबाट हटाएको थियो। गोन पक्राउ पर्दा निसान विश्वको छैटौँ ठूलो कार उत्पादक कम्पनी थियो। बीबीसी