नवलपरासी– घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप नगरपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानकै रूपमा जोड दिएको हो। नगरपालिकाले वडा नं. ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडाको रुपमा घोषणा गरिसकेको छ ।
आगामी दिनमा सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरी नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी स्थानीय तहको रुपमा घोषणा गर्ने योजना रहेको नगर प्रमुख धीरजशर्मा बस्यालले बताएका छन्।
संस्थागत सुत्केरी अभियानलाई प्रोत्साहन गर्नका नगरपालिकाभित्र सुत्केरी हुने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। बर्दघाट नगरपालिकाभित्र कूल १८ वडा रहेका छन्। (रासस)