गुल्मी– गुल्मीको सिमपानीमा दुई बुहारी देवी र लक्ष्मी मिलेर ७६ वर्षीया सासू कौशीला बिकको हत्या गरेका छन्। गहना लुट्नको लागी उनीहरुले सासूकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले बताएका छन्।
प्रहरीका अनुसार उनीहरुले पुस १७ गते गोरु फुकेको भन्दे सासूलाई गोठमा लिगी दाउराले हानेर बेहोस पारी नाक र कानमा लगाएका गहना लुटेका थिए। तर, उनीहरुले सासूलाई गोरुले हान घाइते बनाएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल लगीएको थियो।
तम्घास अस्पतालमा उपचार सम्भव नभएपछि कौशीलालाई बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उनको गत १९ गते उपचारकै क्रममा मृत्यु भएको हो। दुवै बुहारीको श्रीमान विदेशमा रहेकाले बुहारीहरु सासूसँगै बस्दै आएका थिए। घरमा एक्लै भएको मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ गहना लुटेका थिए।
अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।