विराटनगर– प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सबैको साझा मान्छे बनेर प्रदेशबाट विदा हुने आफ्नो इच्छा रहेको स्पष्ट पारेका छन्। विराटनगरमा पत्रकारसँग परिचयात्मक कार्यक्रम आयोजना गर्दै उनले सबैलाई बराबरी रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यहीअनुसार अघि बढ्ने जानकारी दिए। म सबैसँग विवादरहित ढंगबाट समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा छु, उनले भने, ‘त्यसो गर्न नसके म आफैलाई आत्माग्लानी हुन्छ।’
ढुंगामा लागेको लेउ बाढीले बगाए पनि विचारमा लागेको लेउ पखाल्न गाह्रो हुने भन्दै ‘प्यासी’ ले सबैको साझा मान्छे भएरै यो प्रदेशबाट फर्कने आफ्नो इच्छा रहेको स्पष्ट पारेका हुन्। दुई महिनाअघि प्रदेश १ को प्रमुख बनेर विराटनगर आएका उनी गण्डकी प्रदेशका बासिन्दा हुन्। सबै कुराले प्रदेश १ भरिपूर्ण र नमुना रहेको प्यासीको भनाइ छ।
प्यासीले संचार क्षेत्रले आलोचना, प्रशंसा तथा रचनात्मकता प्रदान गरेर राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले संचारकर्मीले सूचना नबनाए कोही पनि सूचित हुन नसक्ने स्पष्ट पारे। व्यक्ति भन्दामाथि विधि र नेत्रृत्व भन्दामाथि नीति छ भन्ने कुरा सबै बुझ्न सके मात्रै लोकतन्त्रले आफ्नो ठाउँ लिन सक्ने प्यासीको भनाइ छ। विधि र नीतिले नै मुलुकको व्यवस्थाप्रति सबैलाई जवाफदेही बनाएर लोकतन्त्रलाई मजबुत पनि बनाउने उनले उल्लेख गरे।
मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर रक्षा गर्न पनि विधि र नीति नै मुख्य हतियार रहेको प्रदेश प्रमुख प्यासीको भनाइ छ। मुलुकको ध्यान पछिल्लो समय पर्यटन प्रवद्धनमा केन्द्रीत भएको भन्दै उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुमा जोड दिए। गण्डगी प्रदेशमा फस्टाएको पर्यटन प्रवद्धनको उदाहरण दिँदै प्रदेश १ पर्यटन प्रवद्धनका हिसाबले पनि पहिलो नम्बरमै आउनुपर्नेमा उनको जोड छ।
‘दीगो हिसाबको पर्यटन प्रवद्धनमा ध्यान दिन जरुरी छ,‘ उनले भने, मानव, पृथ्वी र वातावरणमा सकारात्मक प्रभाव पार्न सक्ने पर्यटन प्रवद्धनमा सबैको ध्यान जान जानुपर्छ।’ प्यासीले शासन लादेर र बजेट लगानी गरेर मात्रै पर्यटन प्रवद्धन नहुने स्पष्ट पार्दै सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्दा मात्रै त्यसमा सफल हुने उल्लेख गरे।