काठमाडौं– ‘ए मेरो हजुर–३’ मा नायिका सुहाना थापा र नायक अनमोल केसीलाई दर्शकले अत्याधिक रुचाए। त्यही भएर उनीहरु फेरि ‘ए मेरो हजुर–४’ मा पनि सँगै देखिने भएका छन्। सुहाना शनिबार नेपाल आएकी थिइन्। शनिबार नेपाल आएसँगै उनले आफ्नो आगामी प्रोजेक्ट ‘ए मेरो हजुर–४’ को तयारी शुरु गरेकी छिन्। निर्देशक झरना थापाले चलचित्रको कथामा काम अगाडि बढिरहेको बताइन्।
सोमबार चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापा सहित यसको टिमले कथाको काम अगाडि बढाएको छ। चलचित्र ‘ए मेरो हजुर–३’ रिलिजसँगै सुहाना अमेरिका पुगेकी थिइन्। करिब ८ महिनापछि सुहाना र अनमोलले एकसाथ नयाँ चलचित्रको कामको तयारी थालेका हुन्। निर्देशक थापाले भनिन्, ‘हामीले कथालाई फाइनल गरिसकेका छौ। यसैले, पनि अनमोल र सुहाना सहित कथालाई अन्तिम मोड दिन सजिलो हुने लागेर एकसाथ काम गरिरहेका हौं।’
यो चलचित्रको छायाँङ्कन माघको १६ गतेबाट शुरु गर्ने तयारी यसको निर्माण पक्षको छ। यसपटक, चलचित्रलाई विशुद्ध लभस्टोरी कथामा तयार गर्ने तयारी गरिएको छ। नायिका सुहाना थापाले आफ्नो दोश्रो प्रोजेक्टका लागि आफू उत्साहित रहेको बताएकी छिन्। नायक अनमोल केसीले पनि यो टिमसँग काम गर्दा निकै सहज लाग्ने भएकाले फेरि काम गर्ने निर्णय गरेको बताएका छन्। गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर–३’ बक्स अफिसमा सुपरहिट भएको थियो। यो पनि दर्शकको लागि निकै आशाबादी चलचित्र हो।